देश

राजावादी प्रदर्शनका लागि सामूहिक एसएमएस अभियान, व्यवसायी सेढाईं प्रहरी नियन्त्रणमा

काठमाडौं । राजावादी आन्दोलनमा सहभागी हुन आह्वान गर्दै व्यापक रूपमा मोबाइल सन्देश ९एसएमएस० पठाएको आरोपमा चितवनका व्यवसायी निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको संलग्नतामा एकै पटक लाखौँ मोबाइल नम्बरमा आन्दोलनमा सहभागी हुन अनुरोध गरिएको सन्देश पठाइएको पुष्टि गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार करिब ५० लाखभन्दा बढी व्यक्तिलाई एकैचोटि एसएमएस पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी काजीकुमार आचार्यले नेपाल टेलिकमको गेट–वे प्रयोग गरी ‘एटी अलर्ट’ शीर्षकमा सन्देश प्रसारण गरिएको जानकारी दिए । प्रहरीका अनुसार सेढाईंले उक्त एसएमएस अभियान सञ्चालन गर्न दूरसञ्चार सेवाप्रदायकसँग औपचारिक सम्झौता गरेको पाइएको छ । उनले तीनमध्ये दुईवटा कम्पनीमार्फत सन्देश पठाएको र त्यसका लागि करिब एक करोड रुपैयाँ खर्चिएको दाबी गरेका छन् ।

प्रहरीले यो कार्य कानुनी दायराभित्र पर्छ कि पर्दैन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । सन्देशमार्फत जनमत प्रभावित पार्ने र सार्वजनिक शान्तिमा असर पार्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको बताइएको छ । निर्देश सेढाईं चितवनका कार व्यवसायी भएको र उनको पेट्रोल पम्पसमेत रहेको प्रहरीको भनाइ छ । हाल उनीमाथि विद्युतीय सञ्चार, सार्वजनिक शान्ति र सम्भावित दुरुपयोगसम्बन्धी कानुनी प्रावधानका आधारमा अनुसन्धान जारी रहेको छ । प्रहरीले यस प्रकरणमा अन्य व्यक्ति वा संस्थाको संलग्नता छ कि छैन भन्ने विषयमा पनि थप छानबिन भइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *