काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूचीमा समावेश उम्मेदवारमध्ये हालसम्म ६१ जनाले आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगका अनुसार बन्दसूची संशोधनको प्रक्रियामा उल्लेखनीय चाप देखिएको छ।
नाम फिर्ता लिनेहरूमा जनमत पार्टीबाट सबैभन्दा धेरै २० जना रहेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १२ जना, नेकपा एमालेका ५ जना तथा विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जनाले बन्दसूचीबाट नाम हटाउन निवेदन दिएका छन्। अन्य दलबाट पनि छिटपुट निवेदन परेका छन्।
निर्वाचन आयोगले निवेदन परेका दलहरूलाई भोलि औपचारिक रूपमा जानकारी गराउने जनाएको छ। आयोगका अनुसार तोकिएको समयसीमाभित्र दलहरूले फिर्ता भएका स्थानमा नयाँ उम्मेदवारको नाम समावेश गर्न पाउनेछन्।
कार्यतालिका अनुसार दलहरूले २ गतेसम्म संशोधित बन्दसूची पेश गर्नुपर्नेछ भने ४ गते समानुपातिकतर्फको बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। आयोगले निर्धारित समयसीमा र प्रक्रिया पालना गर्न सम्बन्धित सबै दललाई आग्रहसमेत गरेको छ।




