काठमाडौं। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले यसलाई औपचारिक रूपमा घोषणा गरेको छ।
कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दलित, महिला र अन्य समूह गरी तीन सदस्यको निर्वाचन हुँदैछ। यसैबीच “अन्य” समूहमा थापा निर्विरोध भएका छन् भने महिला र दलित तर्फ निर्वाचन प्रक्रिया जारी रहनेछ।
निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज पर्र्साईंले जानकारी दिए अनुसार, अन्य समूहमा एकजना उम्मेदवार मात्र दर्ता भएका थिए। महिला तर्फ एमालेकी रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपाने, दलित तर्फ एमालेका सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीले उम्मेदवारी दर्ता गराएका छन्।
कोशी प्रदेशमा कुल ३६६ मतदाता रहेका छन्, जसमा ९३ प्रदेशसभा सदस्य र २७३ स्थानीय तहका प्रमुख/उपप्रमुख समावेश छन्। यसमध्ये एक स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




