देश

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएपछि समानुपातिकतर्फको सूचीमा अन्योल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता औपचारिक रूपमा टुटेपछि प्रतिनिधि सभा अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ठूलो अन्योल सिर्जना भएको छ । एकताकै आधारमा साझा रूपमा बुझाइएको बन्दसूची अब कसको भन्ने भन्ने प्रश्न उठ्दा दुवै दलका नेताहरू फरक–फरक निर्णयमा पुगेका छन् । एकता घोषणापछि उज्यालो नेपाल पार्टीका नेताहरूलाई समेटेर रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो । तर शनिबार साँझ एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले छुट्टै बन्दसूची बुझाउने समयसीमा गुमाइसकेको छ । अर्कोतर्फ, रास्वपाले यसअघि बुझाएको सूचीबाट नाम फिर्ता लिन चाहनेहरू बढेपछि नयाँ नाम समावेश गर्नुपर्ने अवस्था आएको छ ।

निर्वाचन आयोगले बन्दसूचीमा नाम रहेका व्यक्तिले औपचारिक रूपमा नाम फिर्ता नलिएसम्म नयाँ नाम राख्न नमिल्ने स्पष्ट पारेको छ । यसले गर्दा रास्वपाको समानुपातिक सूची अद्यावधिक प्रक्रिया झन् जटिल बनेको छ । यसबीच, उज्यालो नेपाल पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा परेका केही नेताहरू रास्वपामै रहने संकेत गरेका छन् । रास्वपाले आइतबार अद्यावधिक गरेको सूचीमा उज्यालो नेपालबाट समेटिएकी रिमा विश्वकर्माको नाम यथावत् रहेको बताइएको छ । उनी पार्टी एकता भङ्गपछि उज्यालो नेपालको पत्रकार सम्मेलनमा नदेखिएपछि उनको राजनीतिक भविष्यबारे अड्कलबाजी बढेको छ ।

उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा केन्द्रीय समिति बैठकमा उपस्थित भए पनि छोटो समयमै बैठक छाडेर फर्किएकी थिइन् । स्रोतका अनुसार उनी रास्वपाको बन्दसूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन्, जसका कारण उनी व्यवहारतः उज्यालो नेपालमा नफर्कने देखिएको छ । त्यसैगरी, उज्यालो नेपालबाट रास्वपाको समानुपातिक सूचीमा रहेका डा। अभिषेक राज सिंहले पनि नाम फिर्ताबारे कुनै अन्तिम निर्णय नगरेको बताएका छन् । मधेसी कोटामा उच्च स्थानमा रहेका कारण उनी रास्वपामै रहने सम्भावना बलियो देखिएको स्रोतको दाबी छ ।

तर सबै नेताहरूको अवस्था यस्तै छैन । उज्यालो नेपाल पार्टीबाट रास्वपाको बन्दसूचीमा रहेका त्रिशला गुरुङ, महेन्द्र लावती, तुलसा वाइवा, सोमप्रसाद चौधरीलगायतले नाम फिर्ता लिने र उज्यालो नेपालमै फर्किने निर्णय गरिसकेका छन् । उनीहरूले अब आफ्नै पार्टीबाट निर्वाचन अभियान अघि बढाउने बताएका छन् । उज्यालो नेपाल पार्टीका तत्कालीन अध्यक्ष अनुप उपाध्यायले पनि रास्वपाको बन्दसूचीबाट नाम हटाएर पार्टीमै फर्किएका छन् । उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पिएर आफू संरक्षकको भूमिकामा बसेका छन् ।

निर्वाचन आयोगका अनुसार उज्यालो नेपाल पार्टीबाट समेटिएका उम्मेदवारहरूले नाम फिर्ता नलिएसम्म रास्वपाले सूचीमा नयाँ नाम थप्न सक्दैन । यद्यपि एउटै व्यक्ति पार्टीमा नरहे पनि अर्को पार्टीको बन्दसूचीमा रहनु राजनीतिक र नैतिक रूपमा जटिल हुने आयोगको बुझाइ छ । पुराना राजनीतिक शक्तिलाई चुनौती दिने उद्देश्यसहित गरिएको रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भङ्ग हुनुले वैकल्पिक राजनीतिप्रतिको अपेक्षामाथि प्रश्न उठाएको छ । पद, भूमिका र नेतृत्वलाई लिएर सहमति जुट्न नसक्दा सात बुँदे एकता सम्झौता अल्पकालमै टुटेको हो ।समानुपातिक बन्दसूची अद्यावधिक गर्ने समयसीमा समेत सकिन लागेकाले यो अन्योल अब कानुनी र राजनीतिक दुवै हिसाबले निर्णायक मोडमा पुगेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *