काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको ब्रिटिश कलेजमाथि गम्भीर आरोप लगाउँदै १२ वटा विद्यार्थी संगठनले कलेजको अनुमतिपत्र खारेज गर्न माग गरेका छन् । कलेजले कानुनविपरीत शैक्षिक कार्यक्रम सञ्चालन गरेको, अस्वाभाविक रूपमा शुल्क असुलेको र विद्यार्थीहरूलाई वैदेशिक इन्टर्नसिपको नाममा अलपत्र पारेको आरोपसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । आइतबार संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट जारी विज्ञप्तिमा हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका कार्यक्रम अवैध रूपमा सञ्चालन गरिएको, भर्नाका बेला फरक–फरक पाठ्यक्रमको आश्वासन दिएर विद्यार्थीलाई ठगी गरिएको उल्लेख छ । विज्ञप्तिमा भर्ना गरिएका केही विद्यार्थीहरू यूएई ९दुबई० मा समस्यामा परेर अलपत्र परेको विषयप्रति पनि गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विद्यार्थी संगठनहरूले पटक–पटक शिक्षा मन्त्रालय, प्रहरी प्रशासन र अन्य सम्बन्धित निकायलाई समस्या समाधानका लागि दबाब दिँदा पनि उल्टै कलेज प्रशासनलाई संरक्षण गरिएको आरोप लगाएका छन् । राज्य संयन्त्रकै मिलेमतोमा कलेज सञ्चालकले आन्दोलनरत विद्यार्थीमाथि धरपकड, धम्की र पक्राउजस्ता गतिविधि गरिरहेको भन्दै उनीहरूले कडा आपत्ति जनाएका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरूले न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले गुण्डा परिचालन गर्ने, धम्क्याउने र पीडित विद्यार्थीलाई झुटा मुद्दामा फसाउनेजस्ता घृणास्पद गतिविधि गरेकोप्रति हाम्रो गम्भीर भर्त्सना छ ।”
अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाललगायत १२ वटा संगठनले यदि कलेज प्रशासनले यस्ता गतिविधि तत्काल बन्द नगरे कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरूले पीडित विद्यार्थीलाई शीघ्र न्याय दिलाउन, ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न र ठगीमा संलग्न सबै व्यक्तिलाई कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।





