काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
सहमहामन्त्री आचार्य रास्वपाको समानुपातिक सूचीमा शीर्ष स्थानमा थिए। आफैं समानुपातिक उम्मेदवार छनौट समितिको संयोजक भएर आफूलाई पहिलो नम्बरमा सिफारिस गरेको विषयमा पार्टीभित्र र बाहिर आलोचना भएको थियो।
आचार्यले अब प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन्। उनले भनेका छन्, “पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई, पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरुरी छ। समानुपातिक सूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु। साथ र सहयोगको अपेक्षा गर्दछु।”




