कैलाली । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको फेदमा एउटा मनमोहक दृश्य देखिन्छ, आमपानी झरना ।
मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना, केही वर्षअघि ओझेलमा जस्तै थियो तर कोरोना महामारीको समयमा मानिस एकान्त र प्रकृतिको साथ खोज्न थालेसँगै यो झरना चर्चामा आयो ।
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४० लाखको लागतमा यो क्षेत्र व्यवस्थित गरिएपछि पर्यटकको चहलपहल बढेको बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही बताउछन् ।
वन संरक्षण केबल रुख जोगाउनु मात्र होइन, हराउँदै गएका प्राकृतिक सम्पदालाई पुनर्जीवित गर्नु पनि हो भन्ने उदाहरण भजनी–२ स्थित लोहटीवा ताल बनेको छ । अतिक्रमणमा परेको यो ताल २०६२ सालमा राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा पुनःनिर्माण गरिएको हो ।
सो क्षेत्रमा थारू सङ्ग्रहालय पनि निर्माण भइरहेको छ । अहिले त्यहाँ डुङ्गा सयर, वनभोज र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक पुग्ने गरेको थारू सङ्ग्रहालय तथा पार्क वनभोजस्थलका कोषाध्यक्ष अर्जुन सोब बताउछन् ।
पर्या–पर्यटनको दृष्टिकोणले कैलालीको घोडाघोडी ताल निकै महत्वपूर्ण मानिन्छ । नेपालकै पहिलो ‘वर्ड सेञ्चुरी’ का रूपमा घोषित यो क्षेत्र जैविक विविधताको महत्वपूर्ण क्षेत्र हो । दुर्लभ चराचुरुङ्गी, माछा र पुतलीको बासस्थान रहेको यो क्षेत्रले अहिले स्थानीयको जीवनस्तर नै बद्लिदिएको छ ।
घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाह यहाँ देशविदेशका पर्यटक घुम्नका लागि आउने गरेको बताउछन् । उता कञ्चनपुरमा रहेको शोभाताल पनि पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।
वि.सं २०६१ देखि बेलौरी नगरपालिका–५ मा रहेको मुक्त कमैया समुदायले संरक्षण गर्दै आएको ताललाई बेलौरी नगरपालिकाले थप व्यवस्थापन गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वनभोज खान, डुङ्गा सयर गर्न यहाँ पर्यटक आउने गरेको शोभाताल संरक्षण समितिका सचिव गणेश चौधरी बताउछन् ।
पछिल्लो समय कैलाली र कञ्चनपुर पर्या–पर्यटनको महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुँदै गएका यी केही उदाहरणहरु हुन् ।
कैलालीमा कर्णाली चिसापानी, राजकाँडा, केबलकार निर्माण, ऐतिहासिक टीकापुर पार्क, लम्कीको आँमपानी झरना, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र वर्ड सेञ्चुरी प्रमुख आकर्षण हुन् ।
भजनीको लोटिहवा ताल, वसन्ता जैविक मार्ग वरपरका वन क्षेत्र, गौरीगङ्गाको जोगनीया ताल र धार्मिक आस्थाको केन्द्र बेहडाबाबा पनि यहाँका सम्भावनायुक्त गन्तव्यहरू हुन् ।
धनगढी उपमहानगरभित्र जोखर ताल, देवहरिया वनस्पति उद्यान तथा चुरेको काखमा रहेका गोदावरी, बूढीतोला र खानीडाँडाले पर्यटनलाई नयाँ उचाइ दिएका छन् । विशेषगरी चुरे गाउँपालिकाको ऐतिहासिक ‘गर्भा दरबार’ र त्यसतर्फ जाने पदमार्गले इतिहास र प्रकृतिलाई जोडेको छ ।
कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाँदनी तथा कञ्चनपुरको वेदकोट, शोभा, झिलमिला, बन्धा ताल र लिङ्गा वन क्षेत्रमा अवस्थित छन्, जहाँ स्थानीय समुदायले वन संरक्षणसँगै आयआर्जन जोड्ने प्रयास गरिरहेका छन् ।
पर्या–पर्यटनले सिर्जना गरेको रोजगारी
पर्या–पर्यटनको यो लहर स्थानीयको रोजगारीका साथै जीविकोपार्जनको आधार बन्दै गएको छ । पर्यटकीय क्षेत्रमा अहिले फोटोग्राफी, घोड सवार र होटेल व्यवसाय फस्टाउँदै गएको छ । अहिले आफ्नै गाउँमा युवा स्वरोजगार बन्दै गएका छन् ।
घोडाघोडीमा घोडा चढाएर पर्यटक घुमाउने वसन्तकुमार शाही भन्छन्, ‘दैनिक एक हजार २०० रुपैयाँ आम्दानी हुन्छ ।’ घोडाघोडी घुम्न आउने पर्यटकको तस्बिर खिचेर करिब २० जना युवायुवती स्वरोजगार बनेका छन् । डोटीको केआइसिंह गाउँपालिकाका दीपक उपाध्याय भन्छन्, ‘फोटो खिचेरै दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कमाइ हुन्छ, विदेश जानु परेको छैन ।’
घोडाघोडी क्षेत्रमा करिब ३० वटा खाजा–नास्ता होटेल सञ्चालनमा छन् घुमघामपछि पर्यटकले खाजा–नास्ता खाने भएकाले स्थानीयले होटेल व्यवसायबाट आम्दानी गर्दै आएका छन् ।
लवाङ्गी पूजा, माघी, नयाँ वर्ष, चाडपर्व र बिदामा पर्यटक बढ्ने हुँदा आम्दानी पनि बढ्ने गरेको होटेल व्यवसायी अनिता क्षेत्री बताउछन् । उनका अनुसार यस्तो समयमा दिनको करिब दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।
होटेल व्यवसाय मात्र होइन, घोडाघोडी नजिकैको माघी होमस्टेसम्म पनि पर्यटक पुग्ने गरेका छन् । घोडाघोडी घुम्न आउने पर्यटक माघी होमस्टे पुग्ने हुँदा होमस्टेमार्फत आम्दानी भइरहेको माघी होमस्टेका अध्यक्ष सीताराम चौधरी बताउछन् ।
उता कञ्चनपुरको शोभाताल व्यवस्थापन गर्दा स्थानीय समुदायले रोजगारी पाएको बेलौरी–५ का वडा सदस्य कृपा चौधरी भन्छिन् । उनी भन्छिन्, ‘मुक्त कमैया शिविरका १० भन्दाबढी फोटोग्राफर छन्, कतिपयले पसल राखेर व्यवसाय पनि गरिरहेका छन् ।’
संरक्षणमा चुनौती
कैलाली कञ्चनपुरमा पर्या–पर्यटनको विकास भइरहेको छ तर, जहाँ आम्दानी बढ्छ, त्यहाँ कहिलेकाहीँ क्षेत्राधिकारको विवादले पनि ठाउँ पाउँछ । घोडाघोडीमा अहिले त्यस्तै भएको छ । वर्षौंदेखि वन र सिमसार जोगाएका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय नगरपालिकाबीच राजस्व कसले उठाउने भन्ने विषयमा द्वन्द्व चर्कियो ।
घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा शुल्क सङ्कलनका लागि बोलपत्र आह्वान ग¥यो, जुन ठेक्का खप्तड निर्माण सेवाले पायो तर विगतदेखि नै तालको संरक्षण गर्दै आएका सामुदायिक वन र स्थानीय सरोकारवालासँग समन्वय नगरी ठेक्का लगाइएको भन्दै विवाद चर्कियो । सामुदायिक वनका अध्यक्ष दीपक शाह भने सामुदायिक वनसँग कुनै समन्वय नगरी नगरपालिकाले ठेक्का दिएको आरोप लगाउछन् ।
ठेक्का दिएको तीन महिना बितिसक्दा पनि सामुदायिक वनले नछाडेपछि थप विवाद बढेको हो । हाल भने नगरपालिकाले सुरक्षा निकायको सहयोगमा बल प्रयोग गरी ठेक्का कार्यान्वयनमा ल्याएको छ । यता नगर प्रमुख खड्क रावत ठेक्का कार्यान्वयनका लागि सामुदायिक वनले सहयोग गर्ने र सामुदायिक वनको व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने कुरामा छलफल भई काम अघि बढेको बताउछन् ।
कञ्चनपुरको बेलौरीमा रहेको शोभा तालले भने साझेदारीको अभ्यास गरिरहेको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकालाई ४० प्रतिशत र संरक्षण समितिले ६० प्रतिशत लाभको बाँडफाट गर्ने गरी कार्यपालिकाको बैठकबाट निर्णय गरिएको बताउछन् ।
उनले भने, ‘तालको ठेक्कामार्फतको आम्दानी संरक्षण समितिले लिन्छ, त्योबाहेकको आम्दानीको बाँडफाँट गर्ने निर्णय गरेका छौँ ।’ यता शोभाताल संरक्षण समितिका सचिव गणेश चौधरी भने मुक्त कमैयाले संरक्षण गरेकाले स्थानीयले नगरपालिकालाई आम्दानीको २० प्रतिशत दिनेगरी समितिमा छलफल भएको बताउछन् । ‘पहिले नगरपालिकालाई वार्षिक दुई लाख ५० हजार राजस्व बुझाउने गरिन्थ्यो’, उनी भन्छन्, ‘संरचना निर्माण लगायतको व्यवस्थापन नगरपालिकाले नै गरिरहेको छ ।’
नगरपालिकाले कर्मचारीको व्यवस्थापन गरिदिए नगरपालिकाले गरेको निर्णयमा नै सहमत हुने चौधरी बताउछन् । पर्या–पर्यटनको विकास गरिरहँदा समस्या र चुनौती पनि देखिन्छ ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले कैलालीको आमपानीमा संरचना निर्माण गरिए पनि फोहरमैला, तोडफोड र सुरक्षाको भने समस्या देखिएको छ । झरनाको डिल तोडफोड गरिएका छन् । बियरका बोतल फोडेर जताततै फालेको देखिन्छ ।
सरकारको सक्रियता
कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिमको पर्या–पर्यटनको विकासका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पनि सक्रिय छ । कैलालीको चौमालामा नक्षेत्र बाटिका निर्माण, मन्दिर निर्माण, थारू मरुवा निर्माण, पुल निर्माण, आमपानी झरना व्यवस्थापनलगायत विभिन्न योजना सम्पन्न गरिएका छन् ।
पर्यटक भित्र्याउन र पुरातात्विक संरचना संरक्षण गर्ने उद्देश्यले पर्या–पर्यटनको विकास गरिरहेको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहरा बताउछन् ।
अगामी योजनामा पनि कैलालीको चिसापानी पुल नजिकै पार्क निर्माण, बाँकावीर पार्क निर्माण, अत्तरियामा रहेको लामीतालमा पदमार्ग निर्माण धार्मिक पर्यटकका लागि पनि कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणलगायत विभिन्न योजना रहेको बोहरा बताउछन् ।
प्रदेश सरकारसँगै स्थानीय सरकार पनि सक्रिय भइरहेका छन् । कञ्चनपुरको शोभाताल व्यवस्थापन गरेको बेलौरी नगरपालिकाले बन्दा ताल, पुरैनी ताललगायतको व्यवस्थापनका कार्य पनि अघि बढाएको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेशभित्र रहेका प्राकृतिक, सांस्कृतिक तथा जैविक सम्पदाहरू सही व्यवस्थापन र दूरदर्शी योजनासहित अघि बढाइएमा आर्थिक समृद्धिको बलियो आधार बन्नसक्ने तथ्य विभिन्न उदाहरणले स्पष्ट पारेका छन् ।
कैलाली र कञ्चनपुर जिल्लामा पर्या–पर्यटन विकासका लागि विभिन्न प्रयास थालिएका छन् । यी जिल्लामा वन, सिमसार, ताल–तलैया, चुरे क्षेत्र र जैविक विविधताले भरिपूर्ण भू–भाग रहेकाले यहाँ पर्या–पर्यटनको ठूलो सम्भावना रहेको वन तथा भू–संरक्षण विभागका पूर्व महानिर्देशक देवेशमणि त्रिपाठी बताउछन् ।
उनका अनुसार कैलाली–कञ्चनपुरमा पर्या–पर्यटन अझै प्रारम्भिक चरणमै रहेको छ । धेरैले होटेल र भौतिक पूर्वाधार बनेपछि मात्र पर्यटन विकास हुन्छ भन्ने बुझाइ राख्ने गरे पनि त्यो सोच पूर्ण रूपमा सही नभएको उनको भनाइ छ । ‘पर्या–पर्यटनको मूल आत्मा भनेको स्थानीय प्रकृति, संस्कृति र जैविक विविधताको संरक्षणसँगै त्यसबाट दिगो लाभ लिनु हो, जसका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नु आवश्यक हुन्छ’, उनी भन्छन् ।
पछिल्लो समय सामुदायिक वनमा पनि पर्या–पर्यटनसम्बन्धी गतिविधि विस्तार हुँदै गए पनि त्यस्ता प्रयासमा दीर्घकालीन योजना र स्पष्ट मार्गदर्शनको अभाव देखिने गरेको त्रिपाठीको भनाइ छ ।
विशेषगरी ताल–तलैया र सिमसार क्षेत्रमा गरिएको पर्या–पर्यटन प्रारम्भिक चरणमै सीमित भएर रोकिने हो कि भन्ने चिन्ता पनि उनले व्यक्त गरेका छन् ।
पर्या–पर्यटनको मूल आधारलाई व्यावसायिक बनाउने क्रममा कुन कुरालाई प्राथमिकता दिने, कसरी संरक्षण र आम्दानीबिच सन्तुलन कायम गर्ने भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता उनी औँल्याउछन् ।
जैविक विविधता र पर्यटनबीचको सम्बन्धलाई हेर्दा संरक्षण र समृद्धिलाई जोड्ने सबैभन्दा उपयुक्त विकल्प पर्या–पर्यटन नै भएको उनको धारणा छ ।
पर्यटकीय पूर्वाधार र संरचना निर्माण गर्दा वातावरणीय संवेदनशीलतालाई ध्यान दिँदै प्रकृतिमा क्षति पुग्नेगरी बनाइने संरचनाले दीर्घकालमा पर्यटनको सम्भावनालाई नै कमजोर बनाउने जोखिम हुन्छ ।
पर्या–पर्यटन विकासमा संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने र यसको मुख्य जिम्मेवारी स्थानीय समुदायमै रहनुपर्ने उनी बताउछन् । स्थानीय समुदायको सक्रिय सहभागिता, स्वामित्व र लाभ सुनिश्चित भएमा मात्र पर्या–पर्यटन दिगो बन्नसक्ने बताउँदै उनी भन्छन्, ‘यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले नीतिनिर्माण, सहजीकरण र आवश्यक सहयोग गर्दै समन्वयमा काम गर्नुपर्छ ।’ संरक्षण र विकासबीच सन्तुलन कायम गर्नसके सुदूरपश्चिममा पर्या–पर्यटनले जैविक विविधता जोगाउँदै आर्थिक समृद्धिको आधार तयार गर्नसक्ने उनको भनाइ छ ।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत जनक पाध्या पर्या–पर्यटनका गतिविधि सञ्चालन गर्दा जैविक विविधतामा कुनै पनि प्रकारको नकारात्मक असर नपर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिन्छन् ।
उनका अनुसार पर्या–पर्यटनको मूल उद्देश्य नै प्रकृतिको संरक्षण गर्दै त्यसबाट दिगो लाभ लिएकाले यसका सबै गतिविधि संरक्षणमुखी र मापदण्डअनुसार हुन आवश्यक छ । उनी भन्छन्, ‘पर्या–पर्यटन दिगो बनाउन सामाजिक, आर्थिक र वातावरणीय तीनै पक्षबीच सन्तुलन कायम गर्नुपर्छ ।’
पाध्याका अनुसार पछिल्लो समय आर्थिक आम्दानी र रोजगारीसँग प्रत्यक्ष जोडिएकाले पर्या–पर्यटनप्रति आकर्षण बढ्दै गएको छ । यसले स्थानीय समुदायलाई स्वरोजगार र आयआर्जनको अवसर प्रदान गरिरहेको भए पनि दिगोपनलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ ।
स्थानीय समुदायको सहभागिता, नियमित अनुगमन, स्पष्ट मापदण्ड र संरक्षणमैत्री अभ्यास अवलम्बन गर्नसकेमा मात्र पर्या–पर्यटनले दीर्घकालीन रूपमा संरक्षण र समृद्धि दुवै हासिल हुन सक्दछ ।




