राजनीति

विशेष महाधिवेशन चल्दैगर्दा शेखर कोइरालाको भावुक भिडियो सन्देश भनेः मलाई सभापतिको लोभ छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटनको संघारमा भिडियो सन्देश जारी गर्दै उनले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको स्पष्ट पारेका हुन् ।

भिडियो सन्देशमा डा. कोइरालाले आफ्ना कतिपय शैलीप्रति पार्टीभित्र असहमति रहेको स्वीकार गर्दै पनि कांग्रेस रूपान्तरणको अभियानमा आक्रोश र अधैर्यतासहित अघि नबढ्ने प्रतिबद्धता जनाएका छन् ।

‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ,’ उनले भने, ‘तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन । यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ । सभापति वा प्रधानमन्त्री हुने कुराले पनि मलाई लोभ्याउँदैन ।’

डा. कोइरालाले आफ्नो परिवारबाट पाएको शिक्षा नै जीवन दर्शन बनेको उल्लेख गर्दै त्यही दर्शनबाट प्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताए । उनले यो यात्रामा सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको र अर्कोतर्फ परिवर्तन चाहने युवा पुस्ताको असन्तोषको सामना गर्नुपरेको अनुभवसमेत साझा गरे ।

‘एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको छ भने अर्कोतिर ऊर्जावान र जोसिला युवाहरूको असन्तोषको सामना गर्नुपरेको छ,’ उनले भने ।

विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखिसकेको पनि उनले जानकारी दिएका छन् । कांग्रेस एकताको महत्वबारे प्रश्न उठाउँदै उनले सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘हामीसँग भरोसा र विश्वास गर्ने समर्थक, शुभेच्छुक र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकताबद्ध भएर अगाडि बढेको देख्न चाहँदैनन् र ?’ उनले प्रश्न गरे, ‘सोचौँ हामी ।’

डा. कोइरालाले महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर भएको उल्लेख गर्दै उनीहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएको विश्वास व्यक्त गरे ।

‘पार्टी विधानको कार्यान्वयन गर्ने सङ्कल्पसहित तपाईंहरू यहाँ आउनुभएको छ,’ उनले भने, ‘समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी निर्माण गर्ने ऐतिहासिक दायित्व निर्वाह गर्न तपाईंहरू सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ ।’

निकास ननिस्किएसम्म निरन्तर प्रयास गरिरहने प्रतिबद्धता जनाउँदै उनले केही दिनदेखि आफू “भगीरथ प्रयास” मा लागेको पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *