काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नै पर्ने नेता रिजालको जिकिर थियो ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रूपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि मुलुकमा निर्वाचन हुनैपर्ने बाध्यकारी अवस्था रहेको तर्क समेत गरे ।
उनले संविधान नयाँ बनाउने भन्ने कुरामा अलमल आवश्यक नभएको पनि स्पष्ट पारे ।
उनले भने ‘नयाँ अभिमत आवश्यक छ । नयाँ अभिमत लिनलाई फागुन २१ को चुनावमा जानु पर्दछ । फागुन २१ मा चुनाव सम्पन्न गर्यौ भने फर्केर आएको प्रतिनिधिसभा क्रियाशील भएपछि संविधान पूर्ण रूपमा क्रियाशील हुन्छ । अहिले अरू केही पनि अलमलको काम गर्यौ भने संविधानले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ । यो संविधान जोगिने, लोकतन्त्र जोगिने अरूले हुन्न । त्यसैले निर्वाचनमा जानुकै उपयुक्त हुन्छ ।’
काँग्रेस नेता रिजालले संविधानमा निर्वाचन प्रणालीलगायतका विषयमा परिमार्जन गर्न आवश्यक समेत पनि उल्लेख गरे ।




