काठमाडौं । पोखरा महानगरपालिका–३३ मा प्रस्तावित फोहोर प्रशोधन केन्द्र निर्माणको विषयले स्थानीय तहमा तनावको अवस्था सिर्जना गरेको छ । समन्वय र सहमति बिना नै निर्माण प्रक्रिया अघि बढाइएको भन्दै आक्रोशित स्थानीयवासी सडकमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर जान थालेको हो ।
महानगरपालिकाले निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न प्रक्रिया थालेपछि झाँक्रीबगर आसपासका बासिन्दाले विरोध जनाएका छन् । स्थानीयका अनुसार प्रभावित क्षेत्रका नागरिकसँग छलफल नगरी, विवादित जग्गामा परियोजना अघि बढाइनु आपत्तिजनक हो । शुक्रबार स्थानीयले वडा कार्यालयमै प्रदर्शन गर्दै तालाबन्दी गरे । प्रदर्शन उग्र बन्दै जाँदा वडाध्यक्ष रामचन्द्र अधिकारीको गाडीमा तोडफोडको प्रयास भयो । सोही क्रममा वडाध्यक्ष अधिकारी हातमा खुकुरी बोकेर बाहिर निस्किएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीयवासीले कृषि योग्य जमिन, धार्मिक संरचना र पानीका मुहान रहेको क्षेत्रमा फोहोर प्रशोधन केन्द्र बनाउँदा वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्ने भन्दै कडा आपत्ति जनाएका छन् । सेती नदी प्रदूषित हुने सम्भावनाप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन् । पोखरा महानगरपालिकाले भने यो परियोजना सिंगो शहरको फोहोर व्यवस्थापनका लागि अनिवार्य रहेको दाबी गरेको छ । मेयर धनराज आचार्यले असमझदारीका कारण समस्या देखिएको उल्लेख गर्दै स्थानीयसँग संवाद गरेरै परियोजना अघि बढाइने बताएका छन् । “कहीँ न कहीँ फोहोर प्रशोधन केन्द्र बनाउनु नै पर्छ, बल प्रयोग होइन सहमतिबाट समाधान खोजिन्छ,” उनले भने ।
उक्त परियोजना करिब ८० करोड रुपैयाँ लागतमा निर्माण हुने अनुमान भए पनि पछिल्लो समय लागत अझै बढ्ने संकेत देखिएको छ । आवश्यक जग्गा व्यवस्थापन, मूल्यांकन विवाद र स्थानीय अवरोधका कारण परियोजना अन्योलमा परेको छ । स्थिति नियन्त्रणमा राख्न पोखरा–३३ क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जग्गा विवाद, वातावरणीय प्रभाव र निर्णय प्रक्रियामा पारदर्शिताको माग गर्दै स्थानीयले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।




