देश

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं।नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिन मात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् ।

यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए । ‘भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ’, कोइरालाले भने ।

आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आम नागरिकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ । यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउने क्रम सुरु भएको आयोजक समितिको भनाइ छ ।

जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिए । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिकाबीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *