काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका टोपबहादुर रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालत पाटनमा निवेदन दायर गरेका छन्।
प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका छन्।
जिल्ला अदालतले २०८० असार १ मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। यसअघि पुस ११ गते रायमाझीले थुनामुक्तको निवेदन दिएका थिए, तर जिल्ला अदालतले मागअनुसार आदेश नदिँदा उनी उच्च अदालत पुगेका हुन्।
यस प्रकरणमा रायमाझीसँगै नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई कारागार चलान गरिएको थियो। खाँण धरौटी बुझाएर थुनामुक्त भएपनि रायमाझी अझै कारागारमै छन्।




