देश

खजुरास्थित क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा २० दिनदेखि बन्द, रेडियोलोजिस्ट अभावले समस्या

नेपालगञ्ज। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ। क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि बिरामी सेवामा ठुलो प्रभाव परेको छ।

अस्पतालका रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन। अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले नयाँ डाक्टरको पदपूर्ति नहुँदा बाहिरबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए। “पदपूर्ति नहुँदा भिडिओ एक्सरे गर्न पाएका छैनौँ,” उनले भने।

डा. पौडेलका अनुसार क्यान्सरको पहिचान, उपचार योजना बनाउने र प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्य छ। डा. ठाकुरको अचानक राजीनामापछि तत्काल विकल्प नजुट्दा सेवा प्रभावित भएको हो।

यसअघि अस्पतालमा ‘पार्टटाइम’ ज्यालादारीमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षअघि डा. ठाकुर आएपछि सेवा नियमित भई दैनिक १५–२० जना बिरामीको भिडियो एक्सरे हुँदै आएको थियो।

अस्पताल प्रशासनका अनुसार स्थानीय स्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास भए पनि अस्पताल विकास समिति पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ। “स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले प्रक्रिया अघि बढाउन सकिरहेको छैन,” डा. पौडेलले बताए।

अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई एक्सरे गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ। यो अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *