देश

मन्त्री गुप्तासँग सम्बन्धित कुनै कार्यक्रम आयोजना गरिएको छैन: एनआरएनए अमेरिका

अमेरिका।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (एनआरएनए अमेरिका) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणसँग जोडेर संघको आयोजनामा कार्यक्रम हुन लागेको भन्ने चर्चाप्रति औपचारिक धारणा सार्वजनिक गरेको छ।

एनआरएनए अमेरिकाले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको र संघको तर्फबाट कुनै कार्यक्रम आयोजना नगरिएको स्पष्ट पारेको छ। संघका अनुसार आफ्नो नाम, लोगो, ईआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

विज्ञप्तिमा एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने अनधिकृत गतिविधिले कानुनी, आर्थिक र प्रतिष्ठागत जोखिम सिर्जना गर्ने चेतावनी दिइएको छ।

संघको आधिकारिक स्वीकृति र निर्णय बिना कुनै व्यक्ति वा समूहले संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम आयोजना गर्ने वा आर्थिक संकलन गर्ने कार्य गैरकानुनी हुने विज्ञप्तिमा भनिएको छ। यस्ता गतिविधिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूहकै हुने पनि स्पष्ट गरिएको छ।

एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा विषयको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता गतिविधिबारे अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको जनाइएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *