काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) माथि लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको माध्यम बनाएको आरोप लागेको छ।
बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियान को विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेन साहले लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको आरोप सार्वजनिक रूपमा लगाइएको हो।
पत्रकार सम्मेलनमार्फत आम स्वतन्त्र व्यक्तिहरूको गम्भीर ध्यानाकर्षण गराइएको भन्दै आयोजकहरूले भने, “रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए। तर उनको टिमले दलगत राजनीति रोजेपछि पनि लौरो चुनाव चिह्नलाई आफ्नै प्रभाव र पहुँचमा राख्ने प्रयास गरिएको छ।”
उनीहरूले लौरो चुनाव चिह्नलाई केवल चुनावी प्रतीक मात्र नभई स्वतन्त्र अभियानको आस्था, धरोहर र पहिचानको रूपमा व्याख्या गरे। “लौरो स्वतन्त्रहरूको मन्दिर हो, कुनै व्यक्ति वा गुटको निजी सम्पत्ति होइन,” पत्रकार सम्मेलनमा भनियो।
अभियन्ताहरूले बालेन साह र उनको टिमले लौरो चुनाव चिह्नलाई स्वतन्त्र समूहलाई सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्ने मागसमेत गरेका छन्।
देशभरका स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानका रूपमा प्रयोग हुँदै आएको उल्लेख गर्दै भविष्यमा पनि कुनै व्यक्ति, समूह वा राजनीतिक दलको निजी स्वार्थमा प्रयोग हुन नदिन आग्रह गरेका छन्।




