देश

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु

वालिङ (स्याङ्जा)। गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सेवा सुरु गरिएको छ। यस केन्द्रमार्फत नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको समग्र संरक्षणमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

सेवा सुरु गर्ने क्रममा गल्याङका बैद्य वीरबहादुर बोहोराले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै स्थानीयस्तरमा आयुर्वेद सेवा उपलब्ध गराउने बताए। उनले भने, “विश्वव्यापीरुपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोप न्यूनीकरणका लागि योग, ध्यान र आधारभूत आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिनेछ। विद्यालय, आमा समूह, महिला स्वयंसेविका र युवा क्लबमार्फत समुदायस्तरमा चेतना अभिवृद्धि गरिनेछ।”

आरोग्य केन्द्रबाट पूर्वकर्म, पञ्चकर्म, बाष्पविधि, रुघा–खोकी र स्वस्थ जीवनशैलीसम्बन्धी परामर्शसमेत उपलब्ध गराइनेछ। नगर अस्पतालमै सेवा सुरु भएपछि यहाँका नागरिकलाई आयुर्वेद चिकित्सासम्बन्धी सेवा तथा परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *