देश

शंकरापुरको जंगलमा पिकनिक बस दुर्घटना, २२ जना घाइते

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ अन्तर्गतको जंगल क्षेत्रमा पिकनिकबाट फर्किंदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बा ४ ख ८७८८ नम्बरको बस साँझ करिब ५:४५ बजे सडकबाट करिब सय मिटर तल खसेर रुखमा अड्किएको थियो। बसमा ३५ देखि ४० जना यात्रु सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू पिकनिक सकेर फर्कने क्रममा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।

घाइतेहरूलाई तत्काल उद्धार गरी साखुँस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेललगायतका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको भए पनि दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *