देश

प्रहरीको संरक्षणमा सरकार नजुटे, नागरिकको सुरक्षामा खट्न मुस्किल : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राज्यबाट पर्याप्त राजनीतिक र संस्थागत संरक्षण नपाए प्रहरीका लागि नागरिकको सुरक्षा सुनिश्चित गर्न कठिन हुँदै गएको बताएका छन्। मुलुकमा हुने हरेक किसिमका आन्दोलनमा प्रहरी नै सधैँ निशानामा पर्ने गरेको उनको गुनासो छ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको बौद्धस्थित प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै आईजीपी कार्कीले प्रहरीलाई आवश्यकता पर्दा प्रयोग गर्ने र परिस्थितिअनुसार दोष थोपर्ने प्रवृत्ति दोहोरिँदै आएको बताए। उनका अनुसार विगतका विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा समेत प्रहरी संरचना र जनशक्ति नै मुख्य आक्रमणको सिकार बन्ने गरेका छन्।

“प्रहरीका संरचनाहरू पटक–पटक ध्वस्त पारिन्छन्। तर, आन्दोलनको मूल्याङ्कन हुँदा प्रहरीलाई मात्र दोषी देखाइन्छ,” उनले भने, “शान्ति सुव्यवस्था कायम राख्न प्रहरी एक्लैले सक्दैन, यसका लागि सरकार, नागरिक र सुरक्षाकर्मीबीच विश्वास र सहकार्य अनिवार्य छ।”

आईजीपी कार्कीले प्रहरीमाथि हुने आक्रमण रोक्न तथा शान्ति सुरक्षालाई सुदृढ बनाउन नागरिक–प्रहरी साझेदारीको अवधारणालाई व्यवहारमा उतार्न मातहतका सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको पनि जानकारी दिए। उनले आपसी समझदारी र सहयोग बिना मुलुकमा दीगो शान्ति सम्भव नहुने स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *