काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा आज सुरू हुने भनिएको बन्द सत्रको कार्यक्रम पछि सार्दै एमालेले केन्द्रीय कमिटीको अन्तिम बैठक राखेको हो ।
शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएपछि आज बिहानै भृकुटीमण्डपमा बन्द सत्र सुरू गर्ने तयारी थियो । तर, अचानक केन्द्रीय कमिटी बैठक बोलाइएपछि बन्द सत्र स्थगित गरिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव अघि सार्ने तयारी गरेको सूचना पाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले त्यसप्रति आपत्ति जनाएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा विधान संशोधन नगर्ने सहमति भएको पोखरेल पक्षको दाबी छ ।
महाधिवेशनमार्फत विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउनुपर्ने दबाबमा अध्यक्ष ओली रहेको बताइन्छ । तर, विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउन नहुने अडान पोखरेल समूहको छ । ती प्रावधान यथावत् रहेमा ओली पुनः अध्यक्ष बन्न नपाउने अवस्था सिर्जना हुनेछ ।
महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको सचिवालय बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य संख्या बढाउने उद्देश्यले विधान संशोधन प्रस्ताव पेस गर्दा पोखरेल पक्षको विरोधका कारण अध्यक्ष ओली पछि हट्न बाध्य भएका थिए । तर, आजको केन्द्रीय कमिटी बैठकमा त्यही प्रस्ताव पुनः अघि सारिने अनुमान गरिएको छ ।
यसैबीच, ईश्वर पोखरेल पक्षले मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि असहमति जनाएको छ ।




