देश

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ पछिल्ला वर्षमा थारू समुदायको परम्परागत मेडरी नाच युवा पुस्तालाई सिकाउँदै आउनुभएको छ। लोपोन्मुख बन्दै गएको यो नाचको संरक्षणका लागि उहाँसहित पाका पुस्ता जुटिरहेका छन्।

थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो घट्दै गएपछि पाका पुस्ताले कला र सीप हस्तान्तरणको अभियान थालेका हुन्। गुरौले अहिले मेडरी नाच समूहको नेतृत्व गर्दै नयाँ पुस्तालाई सिकाउने जिम्मेवारी सम्हाल्नुभएको छ।

“मेडरी नाच्न धेरै जनाको आवश्यकता पर्छ। अहिले हामीमध्ये धेरैजना ७० वर्ष नाघेका छौँ, त्यसैले इच्छुक युवालाई सिकाउँदै नाचमा सहभागी गराइरहेका छौँ,” गुरौले बताए।

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु–३ लेडाहादेखि कावासोती–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच प्रस्तुत गरिन्छ। महाभारत र कृष्ण लीलामा आधारित यो नाचमा सयदेखि डेढ सयसम्म नचनियाले गोलाकार रूपमा नाच्ने गर्छन्।

थारू समुदायका स्थानीय गेनाराम महतोका अनुसार दैवी शक्तिमा आधारित यो नाच दसैँ, तिहारलगायत पर्व र अन्य शुभकार्यमा पनि नचाइन्छ। पितृ औँसीमा पितृ विसर्जनपछि सुरु हुने यो नाच हरिबोधिनी एकादशीसम्म निरन्तर नचाइने परम्परा छ।

मेडरी नाचमा मादल, झ्याली र तरबारको प्रयोग गरिन्छ भने अर्जुनको रथ ध्वजाजस्तै बाँसको ध्वजापताका लिएर नाचिने गरिन्छ। तर, आवश्यक सामग्री अभावले यसको संरक्षणमा कठिनाइ भएको स्थानीय हुमबहादुर थनेतले बताए।

थारू समुदायमा लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अझै पाका पुस्तामै निर्भर रहेको चुनिलाल थनेतले बताए। “पहिले गाउँभर नचाइने मेडरी नाच अहिले बिस्तारै लोप हुँदै गएको छ, तर केही युवाले सिक्ने चासो देखाएका छन्,” उनले भने।

दुलामणि गुरौका अनुसार हाल थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाइने गरिएको छ भने सीता हरण विषयक नाच हराउने अवस्थामा पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *