देश

सांसदहरूले राष्ट्रिय गौरव आयोजनाको ढिलाइबारे सरकारसँग स्पष्टीकरण मागे

काठमाडौँ।राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजना ढिला हुनुपर्ने कारण स्पष्ट गर्न र ती आयोजनाहरू समयमै सम्पन्न गराउन सरकारसँग ध्यानाकर्षण गराएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आयोजना अनुगमन र पुनरावलोकनको आवश्यकता औँल्याए।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारलाई राष्ट्रिय गौरवका आयोजनाको पुनरावलोकन गर्न आग्रह गर्दै भने, “कस्तो आयोजना राष्ट्रिय गौरवको हो भन्ने स्पष्ट परिभाषा हुनुपर्छ। मन्त्रालयहरूले आफ्नो काम किन समयमै सम्पन्न गर्न सकेनन् भन्ने प्रष्ट हुनु आवश्यक छ। यसले सम्बन्धित मन्त्रालयलाई बढी सतर्क बनाउँछ र काममा गम्भीरता ल्याउँछ।”

सांसद गोपीबहादुर सार्की आछामीले आयोजनाहरूको पछिल्लो अवस्था बुझ्न सरकारसँग अनुगमन र छलफल उपयुक्त हुने सुझाए। उनले आगामी निर्वाचन र मुलुकको हालको अवस्था समेटेर प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गर्ने वातावरण बनाउनु आवश्यक रहेको पनि बताए।

बैठकमा सांसदहरूले सम्पन्न हुनै लागेका आयोजना, जस्तै कालीगण्डकी करिडोरका पाल्पा र पर्वत खण्ड, तथा कर्णाली प्रदेशका योजनाहरूमा ध्यान दिन सरकारलाई सचेत गराए। सांसद गैरले भने, “साना–साना कामले पनि आयोजनालाई सम्पन्न गर्न सकिन्छ। ती योजनाहरूको अनुगमन प्रभावकारी रूपमा अघि बढाउनुपर्छ।”

सांसदहरूले सरकारसँग राष्ट्रिय गौरवका आयोजना समयमै अगाडि बढाउन ठोस कदम चाल्न र अनुगमन प्रणाली प्रभावकारी बनाउने आवश्यकता औँल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *