देश

पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’

काठमाडौं। पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् ।

सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।

खड्काले समाचारप्रति दु:ख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छु ?’ उनले थपे, ‘पत्रकारिता समाजलाई सुसूचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’

पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले त्यस घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोप समेत लगाए ।

‘यो सबै अचम्म लाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’ खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *