राजनीति

अहिलेको सरकार आगजनी, तोडफोड र लुटमारको जगको बनेको हो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको आरोप लगाएका छन् ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले सरकारलाई संविधानले नचिनेको समेत दोहोर्याए । उनले जनताको अभिमतबाट बनेको प्रतिनिधि सभा भंग गर्ने अधिकारी सरकारलाई कसले दियो भनी प्रश्न समेत गरे ।

उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले भने ‘अहिलेको सरकार आगजनी, तोडफोड, लुटमारको एउटा भयावह स्थितिबाट जन्मिएको, संविधान र कानुनले कतै नचिनेको असंवैधानिक सरकार हो । फेरी सरकारलाई झोक पो चल्लाकि । यो असंवैधानिक सरकार हो । कुन संविधान अनुसार बनेको छ ? अनि आवश्यकताको सिद्धान्त ? लोकतान्त्रिक प्रणाली मान्न हुन्छ कि हुन्न ? मान्दिन भन्न हुन्छ । के मान्नु हुन्छ त ? संविधान मान्नु हुन्न भने के मान्नु हुन्छ ? अव संसद सार्वभौमसत्ता सम्पन्न जनताले संविधान अनुसार निर्वाचन आयोगले तोके अनुसार निर्वाचन आयोगले दबाबमा होइन, कानुनसम्मत आवधिक ढंगले तोकिएको निर्वाचनबाट कानुनी सबै प्रक्रिया पूरा गरेर जनताको अभिमतबाट आएको जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संसद विघटन गर्ने अधिकार कसले दियो, कहाँबाट पायो ? क्रान्तिबाट बनेको सरकार ? कहाँ भयो क्रान्ति ? प्रतिक्रान्ति हो यो । यसले देशलाई पछाडि धकेलेको छ । शान्तिबाट हिंसा र अराजकतामा मुलुकलाई धकेलिएको छ । कानूनीराजबाट आवेश, उत्तेजना र प्रतिसोधमा परिणत गर्ने गरी प्रतिगमन भएको छ ।’

अध्यक्ष ओलीले मुलुकमा सरकारले प्रतिसोध साँध्ने खालको व्यवहार प्रदर्शन गरिरहेको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *