राजनीति

महराविरुद्धको थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस चलेको छ।

जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा अभियोगपत्र पढिएको र त्यसपछि बहस सुरु भएको थियो। तर बहस पूरा नहुँदा उनलाई हिरासतमै फर्काइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो भने सोमबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको थियो।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ। उनी यसअघि २०८० चैत ५ गते पनि कागज गरिसकेका छन्।

२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसमा ७३ बट्टामा ७३० वटा भेपमा सुन ल्याएको पाइएको थियो। ट्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीले सुन नियन्त्रणमा लिएका थिए।

सुरुवातमा भन्सारले नियन्त्रणमा लिएको सुन छुटाउन चिनियाँसँग महरा र उनका छोरा राहुलको मिलेमतो रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। यस प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध पहिले नै मुद्दा दर्ता भइसकेको छ। पहिलो चरणमा चिनियाँ तस्करसँग महरा र उनका छोराको मिलेमतो भए पनि प्रहरीले महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *