भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा सुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै गर्ने विषयमा छलफल भएको थियो। ज्ञवालीका अनुसार बैठकले महाधिवेशनको माध्यमबाट उठेका प्रश्नहरूको जवाफ खोज्दै नयाँ ढङ्गले अघि बढ्ने निष्कर्ष निकालेको थियो।
बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको थियो। सरकारलाई राष्ट्रिय एकता कायम गर्न, दलहरूबीच सहकार्य गरेर देशलाई एकताको दिशामा अघि बढाउनुपर्ने निष्कर्ष पनि निकालिएको थियो।
आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय गरिएको छ।



