राजनीति

संविधानसम्मत र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास दिनुपर्नेः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अबको राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताएका हुन् ।

उनले संविधानका मर्मअनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।

‘यस्तो विषय परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलुन् भन्ने हाम्रो आग्रह छ,’ महासचिव पोखरेलले भने ‘स्थानीय निकायहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ ।’

विद्यमान विषम परिस्थितिका बीच अझै पनि मुलुकका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेनालगायत सबै सुरक्षा निकायको ध्यानाकर्षण गरेका छन् ।

एमाले महासचिव पोखरेलले यही भदौ २३ गतेको दुःखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग राखे । यसैगरी, उनले भदौ २४ गते देशव्यापी रूपमा आगजनी, तोडफोड, लुटपाटजस्ता आपराधिक गतिविधिको निन्दा गर्दै त्यस्ता अराजक गतिविधि हुन नदिन तथा देश र जनताका पक्षमा एकताबद्ध भई डटेर मुकाबिला गर्न पार्टी पङ्क्तिसमक्ष अनुरोध गरेका छन् ।

एमाले महासचिव पोखरेलले ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरूको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम राख्न र जनतालाई परेका पीरमर्कामा सम्भव भएसम्म सहयोग गर्न सम्बद्ध सबैसँग अपिल गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *