देश

मानव बेचबिखन नियन्त्रण गर्न सङ्गठित रुपमा लाग्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सङ्गठित रूपमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवसका अवसरमा दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहका हरेक वडा र टोलटोलबाट राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्तासहित सबै सङ्गठित भएर यस विरुद्ध लाग्न आह्वान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले भने, ‘मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी सञ्जालका रूपमा फैलिएको अपराधजन्य कार्य हो । नेपालको विद्यमान संविधानले कसैलाई पनि बेचबिखन गर्न र दास बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । मानव बेचबिखन कार्यलाई नियन्त्रण गरी पीडित र प्रभावितको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’

उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार विश्वमा पाँच करोड मानिस आधुनिक दासताको जीवन बिताइरहेको उल्लेख गर्दै गरिबी, विपन्नता र मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदि कारण यसले प्रश्रय पाइरहेको बताए । ‘मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो । यो सामाजिक रुपमा निन्दनीय, कानुन रूपमा दण्डनीय हुनुका साथै समाजको कलङ्कका रूपमा रहेको छ । यस्ता प्रकृतिका जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नु हामी सबैको कर्तव्य पनि हो’, उपप्रधानमन्त्री सिंहले भने ।

उनले मानव बेचबिखन तथा ओसारपसारका घटना हुन नदिन नेपाल सरकार गम्भीर रूपमा लागिरहेको र यसमा सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित सरोकार भएकाहरूको सहकार्य भएमा रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *