देश

मिडियाका नाममा देखिएको अराजकता रोक्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइनेः मन्त्री गुरुङ

गण्डकी। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएको अराजकतालाई नियमन गर्न सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउन लागेको बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सो विधेयकबारे अनावश्यक भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै भने, “यो विधेयक नियन्त्रणका लागि होइन, नियमनका लागि ल्याउन लागिएको हो। लोकतान्त्रिक सरकार भएको नाताले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत जाने काम हुने छैन।”

उनले राष्ट्रियता, स्वाधीनता र एकताविरोधी गतिविधि सह्य नहुने स्पष्ट पार्दै साइबर क्राइम नियन्त्रण अपरिहार्य भएकाले कानुनी आधार निर्माण गर्न नयाँ ऐन आवश्यक भएको बताए। मन्त्री गुरुङका अनुसार विगत नौ–दश महिनाभित्र मात्र साइबर अपराधसम्बन्धी १९ हजारभन्दा बढी उजुरी प्रहरीमा दर्ता भएका छन्, जसले समस्या गम्भीर रहेको देखाउँछ।

यस अवसरमा मन्त्री गुरुङले प्रेस काउन्सिल विधेयकलाई प्रतिस्थापन गर्दै मिडिया काउन्सिल विधेयक ल्याउने तयारी भइरहेको जानकारी पनि दिए। उनका अनुसार नयाँ विधेयकले अनलाइनसहित सबै प्रकारका मिडियालाई नियमन गर्नेछ।

“सञ्चार क्षेत्रमा भएका पुराना कानुनलाई परिमार्जन गरेर आवश्यक नयाँ कानुन ल्याउने हाम्रो तयारी छ,” मन्त्री गुरुङले भने।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *