काठमाडौँ ।नेकपा (एमाले) को आन्तरिक राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौंको थापागाउँ, लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि राजनीतिक गतिविधिमा सक्रिय हुने चाहना राखेकी भण्डारीको यो कदमलाई उनका राजनीतिक पुनरागमनको सांकेतिक सुरुवातको रूपमा हेरिएको छ।
कार्यालय ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाममा सञ्चालन हुनेछ। समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने संरक्षक स्वयं पूर्वराष्ट्रपति भण्डारी छिन्। दिउँसो २ बजे उद्घाटन कार्यक्रम आयोजना हुनेछ।
यस ऐतिहासिक घरमा २०४८ सालमा मदन भण्डरीले र २०५१ मा भण्डारीले चुनावी अभियान सञ्चालन गरेका थिए। अहिले भण्डारीले यही घरलाई राजनीतिक पुनरागमन र पार्टीभित्रको वैचारिक गतिविधि सञ्चालनको केन्द्र बनाएकी छन्। एमालेले उनको सक्रियता रोक्ने र सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि यो कदमले भण्डारीको प्रभाव र पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।




