राजनीति

राजनीतिलाई कमाइ खाने धन्दा नबनाउन अध्यक्ष लिङदेनको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति पैसा कमाउने धन्दा नभई नितान्त सेवा गर्ने बाटो हो भन्ने स्पष्ट सन्देश दिएका छन्। राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राजनीति रोज्ने व्यक्तिले व्यक्तिगत लाभभन्दा बढी समाज र राष्ट्र सेवालाई प्राथमिकता दिनुपर्ने बताए।

उनले राजनीतिक जीवनलाई स्थायी आम्दानीको स्रोत बनाउन खोज्ने प्रवृत्तिले राजनीति दूषित हुने चेतावनी दिए। “राजनीतिले खान–लाउन दिँदैन, त्यसैले राजनीतिमा लागेका व्यक्तिले कुनै न कुनै व्यवसाय वा पेशामा संलग्न हुनु जरुरी हुन्छ,” लिङदेनको भनाइ थियो।

राजनीतिक जीवनमा आफूले कहिल्यै घुस नलिएको र बेइमानी नगरेको दाबी गर्दै उनले कार्यकर्तालाई पनि त्यही बाटोमा हिँड्न आह्वान गरे। लिङदेनले नेपालमा प्रशस्त स्रोत–साधन भए पनि त्यसको उचित उपयोग हुन नसकेको बताए। उनका अनुसार, स्रोत–साधनको अधिकतम उपयोग गर्न सकिने हो भने युवाहरूलाई रोजगारीको खोजीमा विदेशिनु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ।

कार्यक्रममा उनले पार्टीको महिला संगठनलाई उद्देश्यमूलक गतिविधि र एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए। पार्टीले लिएको लक्ष्य हासिल गर्न महिला नेतृत्वको सक्रिय भूमिका अपरिहार्य रहेको उनले औंल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *