काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै गर्न सबै नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।
शनिबार सोलुखुम्बु कांग्रेसले आयोजना गरेको ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता’ विषयक अन्तरक्रियामा उनले महाधिवेशन ढिला गर्न खोजिँदा लोकतन्त्र नै कमजोर हुने चेतावनी दिए। “छिटोभन्दा छिटो महाधिवेशन नभए काँग्रेस कमजोर हुँदै जान्छ। त्यसैले सबैले सामाजिक सञ्जालमार्फत दबाब दिनुपर्छ,” उनले आग्रह गरे।
डा. कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने चर्चा गलत भएको भन्दै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पारे। उनले काँग्रेसको अनुशासन समिति समेत गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई मान्यता नदिएको आरोप पनि लगाए।
उनका अनुसार सहमति, सहकार्य र संगठनात्मक एकताको सुरुआत सभापतिबाटै हुनुपर्छ, र त्यसका लागि १५औँ महाधिवेशन समयमै हुन अपरिहार्य छ।




