देश

कैलाली कारागार झडप : गृहमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच छलफल

काठमाडौं । कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावग्रस्त स्थितिलाई लिएर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ ।

घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार आकस्मिक भेटघाट भएको छ ।

भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ ।

शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्काे समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो ।

उक्त सांघातिक हमलामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ भने करिब ४७ जना घाइते भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *