म्याग्दी।बेनी नगरपालिका–९ स्थित प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर बजारको सौन्दर्यीकरण कार्य प्रारम्भ गरिएको छ। गलेश्वर बजारभित्रको सडक तथा पैदलमार्गमा ढुङ्गा बिछ्याउने काम सुरु गरिएको हो।
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिने गलेश्वरलाई पर्यटक र भक्तजनका लागि अझ आकर्षक बनाउने उद्देश्यले यो योजना अघि सारिएको हो।
योजनाअनुसार गलेश्वर बसपार्कदेखि मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको सडक र पैदलमार्गमा दुई इञ्च बाक्लो कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको छ। सडक किनारामा गमला राखेर फूलका बिरुवा रोप्ने योजना पनि छ।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार, चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु ६ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र तथा राधाकृष्ण मन्दिरले जनही रु २–२ लाख विनियोजन गरेका छन्। एसएस बिल्डर्सले रु २४ लाख ३६ हजार ५७१ मा निर्माण कार्यको ठेक्का लिएको हो।
नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालका अनुसार गलेश्वर प्रवेशद्वारदेखि मन्दिरसम्म १०६ मिटर दूरीमा ७,१०० घनमिटर ढुङ्गा बिछ्याइनेछ। साथै, ५३ घनमिटर पर्खाल र २० मिटर पलम नालीको निर्माण सम्पन्न भइसकेको छ।
गलेश्वरमा आउने पर्यटक तथा भक्तजनलाई लामो समयसम्म बस्न प्रेरित गर्ने उद्देश्यले अगामी वर्षमा पनि सौन्दर्यकरण योजनालाई निरन्तरता दिने तयारी भइरहेको छ।
सार्वजनिक यातायातका साधनलाई अब बजारबाहिरको कालीगण्डकी करिडोरमार्फत सञ्चालन गरिने छ। तर, निर्माण सामग्री र उपभोग्य वस्तु आपूर्तिका लागि बजारभित्र सवारी आवागमनलाई व्यवस्थित गर्न मिल्ने संरचना तयार गरिएको वडाध्यक्ष केसीले जानकारी दिए।
कालीगण्डकी नदी किनारमा विशाल चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरलाई धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिन्छ। यहाँ दर्शन, पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। हिन्दू धर्मग्रन्थअनुसार, सतिदेवीको गला पतन भएको स्थान भएकाले यस मन्दिरको नाम ‘गलेश्वर’ रहन गएको हो। साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिका अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ।




