काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट परिचय गराई एक युवकलाई हनी ट्र्यापमा पारेर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। ती युवतीहरूले युवकलाई नग्न भिडियो र बलात्कार मुद्दाको डर देखाएर पाँच लाख रुपैयाँ असुलेको खुलेको छ।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० मा स्थायी बसोबास गर्दै र्आएकी ३४ वर्षीय ममता तामाङ र भक्तपुर नगरपालिका–१७ बस्नै ३४ वर्षीय आँचल चौगुठी रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा चिनजान भएपछि ती युवतीहरूले एक युवकलाई ठमेलमा बोलाएर मदिरा सेवन गराइ उनका केही नग्न फोटो र भिडियो लिएका थिए। त्यसपछि ती सामग्री देखाउँदै युवकलाई बलात्कार मुद्दामा फसाउने धम्की दिएका थिए। उनीहरुले युवकसँग काठमाडौंको ४ आना जग्गा माग गरे त्यसपछि पाँच लाख रुपैयाँको चेक लिएर युवकलाई ‘केस मिलाउने’ बहानामा रकम असुलेका थिए ।
प्रहरीका अनुसार यो सञ्जाल योजनाबद्ध रूपमा आर्थिक लाभ उठाउने हनी ट्र्याप रणनीतिमा आधारित थियो। पीडितको उजुरीपछि अनुसन्धान सुरु गरिएर दुबै युवतीलाई पक्राउ गरिएको हो।यो घटना केवल आपराधिक गतिविधिको केस मात्रै होइन, सामाजिक सञ्जालमा ‘भेटघाट’को नाममा बढ्दो जोखिमप्रति गम्भीर चेतावनी पनि हो। ब्ल्याकमेल र भावनात्मक फसावटको यस्तो जालोबाट जोगिन सतर्कता आवश्यक छ। प्रहरीले अहिले आरोपीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।





