देश

सहकारीको ऋण नतिरेपछि ठगी अभियोगमा एमाले नेता कृष्ण अर्याल पक्राउ

काठमाडौं । सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी अभियोगमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन्। दिगो पर्यटन सहकारी संस्था बाट लिएको ऋण नतिरेपछि अदालतले दोषी ठहर गरेका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखामा बुझाएको हो।

प्रहरीका अनुसार, आवश्यक अदालती प्रक्रिया पूरा गरेपछि उनलाई कारागार चलान गरिनेछ।

अर्यालले २०७४ साल जेठ ३० गते सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। उनी संस्थाको सञ्चालक समितिमा आफैं बसेर ऋण लिएका थिए।

तर, सहकारीले वर्षौंसम्म पटक–पटक मौखिक र लिखित रूपमा भुक्तानीको आग्रह गर्दा पनि उनले न साँवा तिरे न ब्याज। २०७९ पुस ४ गते सहकारीले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो।

अदालतले २०८० असार २७ गते अर्याललाई रकम भुक्तानी गर्न आदेश दिएको थियो। त्यसपछि पनि सहकारीले किस्ताबन्दीमा तिर्न आग्रह गर्दै ब्याजसहित रकम बुझाउन बारम्बार आग्रह गरे पनि उनले अटेर गरेको संस्थाका सचिव प्रल्हाद लोहनीले बताए।

सहकारीले जनताको बचत सुरक्षित राख्न बाध्य भई अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने अवस्था आएको जनाएको छ।

अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटी सदस्य, पर्यटन विभाग सदस्य, तथा उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज समेत हुन्। उनी पर्यटन बोर्डका पूर्व सदस्य पनि हुन्।

संस्थाले आरोप लगाउँदै भनेको छ कि अर्यालले राजनीतिक पहुँचको आडमा रकम पचाउन खोजेपछि कानुनी प्रक्रियामा जानु परेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *