काठमाडौँ। बजेट, भूमि विधेयकलगायतका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक जनमत पार्टीको कार्यालयमा बसेको छ। बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ। अघिल्लो बैठकको निर्णयअनुसार सबै पार्टीले नाम दिइसकेकाले बुधबारको बैठकले अनुमोदन गर्ने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
उनले आजको बैठकमा भूमि अध्यादेश र आगामी बजेटका विषयमा छलफल हुने बताए। डा. यादवले आफूहरूको मागप्रति सरकार सकारात्मक नभएकाले संविधान संशोधन, बजेट वितरण र भूमि अध्यादेशका विषयमा मोर्चाबन्दी नै गरेर गएका कारण यसपटक हाम्रा मागहरूको सुनुवाइ हुन्छ भन्ने विश्वास व्यक्त गरे।
“भूमि अध्यादेशको बारेमा एउटा विज्ञ टिम बनाएर यसलाई बृहत् रूपमा छलफल गरेर कसरी अगाडि लाने हो। यो हाम्रो हकहितमा छ कि छैन त्यो कुराको निक्र्योल कसरी निकाल्ने हो। बजेट हामीले जनसङ्ख्याको आधारमा वितरण हुनुपर्छ र राज्यले पिछडिएका भूभाग र पिछडिएका जनताका लागि कसरी बजेट छुट्याउँछ त्यस विषयमा पनि छलफल छ,” प्रवक्ता डा. यादवले भने। त्यसपछि सचिवालय गठन र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि मोर्चाले छलफल गर्ने बताए। उनले थपे, “धेरै कुरामा हाम्रो माग सम्बोधन भएको छैन। हाम्रो मागलाई लिएर सरकार त्यति तत्पर देखिएको छैन। अब अहिले आएर संविधान संशोधन, बजेट वितरणको कुरा, भूमि अध्यादेशको कुरामा हामी मोर्चाबन्दी गरेर गइसकेपछि पक्कै पनि जनताकै लागि राम्रो गर्न ल्याएको हो भने हाम्रो कुरा सुन्छ र सुन्नुपर्छ।”
लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन्।




