काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले ‘मिसन रोजगारी’ अभियानमा काम गरिरहेको बताएका छन्।
कांग्रेसले पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागको संयोजनमा “राजनीतिक विमर्शको केन्द्रमा रोजगारी, सरकारको प्राथमिकताको केन्द्रमा रोजगारी” भन्ने मूल अवधारणासहित यो अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए।

महामन्त्री थापाले दिगो रोजगारी सिर्जना गर्ने विषय व्यावसायिक लगानी, सिप तथा जनशक्ति व्यवस्थापनजस्ता विभिन्न आयाममा गरिने कामहरूको नतिजा भएको स्पष्ट पारे। उनले यस अभियान केन्द्रित भएर रोजगारदाता, सिप प्रदायक, विज्ञ तथा नीतिगत रूपमा काम गर्ने सम्पूर्ण सरोकारवालासँग निरन्तर छलफल र अध्ययन गरिरहेको उल्लेख गरे।
हालै, पार्टीले ‘स्थानीय सरकारः रोजगारी केन्द्रित नीति, योजना र कार्यक्रम’ विषयमा केन्द्रित रहेर विज्ञ, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूसँग छलफल गरेको थापाले बताए।

उनले थपे, “छलफलमा प्राप्त सुझावहरू र हाम्रो अध्ययनको आधारमा, हामीले स्थानीय सरकारहरूलाई रोजगारीका सन्दर्भमा गर्नुपर्ने नीति, योजना तथा कार्यक्रममा सुझाव दिनेछौँ, आवश्यक सहयोग गर्नेछौँ।” यसको समन्वय स्थानीय तह समन्वय विभागले गरिरहेको र रोजगारीसँग जोडिएका आधारभूत विषयहरूमा स्थानीय तहले काम गर्न सक्ने ठाउँहरू रहेको र त्यसमा केन्द्रित भएर काम हुने उनको भनाइ छ।
महामन्त्री थापाले स्थानीय सरकारका प्रतिनिधिहरूले ‘हामी सक्छौँ’ भन्ने विश्वास व्यक्त गरेको र सबैको साथ, सहयोग, सहभागिता र उत्साहले ‘हामी सक्छौँ’ भन्ने विश्वास पैदा भएको बताए।




