देश

मातातीर्थ आयुर्वेद अस्पतालमा निःशुल्क शल्यक्रिया सेवा सुरु

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ। स्थानीय तहद्वारा सञ्चालित यो अस्पताल निःशुल्क रूपमा शल्यक्रिया सेवा प्रदान गर्ने पहिलो अस्पताल बनेको छ।

चन्द्रागिरि नगरपालिकाले अस्पतालको पञ्चकर्म र क्षारसुत्र सेवालाई थप गुणस्तरीय बनाउन करिब १० लाख रुपैयाँको लगानीमा शल्यक्रिया कक्ष र बिरामी राख्ने श्यया निर्माण गरेको छ। अस्पतालका प्रमुख डा. नारायण आचार्यले यो सेवा सुरु भएसँगै अस्पतालले थप विशेषज्ञ सेवाहरू पनि प्रदान गर्ने बताए।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको शुभारम्भ गर्दै नगरले एलोपेथिक र आयुर्वेद चिकित्सा दुवै सेवालाई सँगसँगै अगाडि बढाएर ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने लक्ष्य लिएको बताए।

अस्पतालले पहिलो चरणमा हप्ताको एक दिन शल्यक्रिया सेवा उपलब्ध गराउनेछ र बिरामीको चाप र माग अनुसार क्रमशः दैनिक सेवा सञ्चालन गर्ने योजना रहेको डा. आचार्यले जानकारी दिए। अस्पतालले दैनिक ओपिडी सेवा र हप्तामा एक दिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। पञ्चकर्म अन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया गरिनेछ। अस्पतालमा जडीबुटी उद्यान पनि रहेको छ र यसले महिनावारी स्वच्छता, हात धुने अभ्यास, प्राथमिक उपचार, मोबाइल हेल्थ शिविर जस्ता सेवाहरू पनि सञ्चालन गरिरहेको छ। आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न योजनाबद्ध रूपमा काम गरिने अस्पताल प्रशासनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *