देश

उपेक्षा भोगेको गुनासो : विद्यालय कर्मचारी छुट्टै आन्दोलनको तयारीमा

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिमा आफ्ना माग बेवास्ता गरिएको भन्दै विद्यालय कर्मचारीहरू अब छुट्टै आन्दोलनमा उत्रिने भएका छन्। उनीहरूले आफूहरूलाई ‘उपेक्षा र बेवास्ताको’ सिकार बनाइएको आरोप लगाउँदै सडक संघर्षको घोषणा गर्ने तयारी थालेका हुन्। बिहीबार काठमाडौंको रत्नराज्य विद्यालयमा सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा कर्मचारीहरू असन्तुष्ट देखिए। कार्यक्रमस्थलमै नाराबाजी र अवरोध भएको थियो।

नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले विगत तीन वर्षदेखि आन्दोलनमा सहभागी भए पनि कुनै न्याय नपाएको गुनासो गरे। “सञ्चित बिदादेखि तलबमानसम्मका मागलाई बेवास्ता गरिएको छ,” उनले भने। कार्यालय सहयोगी र लेखापालको न्यूनतम तलब निर्धारणका लागि सुझाव दिइए पनि त्यो समेत समावेश नगरिएको उनको आरोप छ। योगीले सरकार र महासंघ दुबैको आलोचना गर्दै भने, “शिक्षकहरूलाई सरकारको ललिपप देखायो, महासंघले हामीलाई अझै ठूलो ललिपप देखायो। तर हामी त्यो मिठो झुटोमा झुक्दैनौं।”

उनले अब विद्यालय कर्मचारीहरू कुनै संगठनको छायाँमा नरही स्वतन्त्र रूपमा आन्दोलन गर्ने चेतावनी दिए। “एक वर्षसम्म पनि सडकमा बस्न तयार छौं,” उनले प्रस्ट पारे। साथै, महासंघको नेतृत्वमा आर्थिक पारदर्शिता नभएको भन्दै आन्दोलनमा उठेको पैसामा पनि अनियमितता भएको दाबी गरे। पूर्व महासचिव लक्ष्मीकिशोर सुबेदीको नाम उल्लेख गर्दै उनले विगतको घोटाला अझै ढाकछोप गरिएको आरोप पनि लगाए। विद्यालय कर्मचारीको यो असन्तुष्टि र विद्रोही स्वरले शिक्षा क्षेत्रमा पुनः तनाव निम्त्याउने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *