
देउखुरी (दाङ) । दाङका महिलाहरू समूहमा आबद्ध भएर सामूहिक कृषि तथा पशुपालन गरी आर्थिक समृद्धि खोजिरहेका छन्। घोराही उपमहानगरपालिका–८ कटुकीकी वसन्ती चौधरी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन्। समूहका २० जना मिलेर सामूहिक खेती गरिरहेको उनले बताइन्। नौ कट्ठा जग्गा भाडामा लिएर आलु र प्याज खेती गरेको र उत्पादन राम्रो भएको उनको अनुभव छ। कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको र २० जनालाई जनही २० हजार रुपैयाँ बीउपुँजी सहयोग गरेको उनले जानकारी दिइन्। समूहमा आबद्ध भएपछि सरकारी कार्यक्रमबारे जानकारी पाउनुका साथै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन १० लाख रुपैयाँ बजेट सहयोग गरेको उनले बताइन्।
सोही समूहकी अध्यक्ष देउकुमारी चौधरीले वित्तीय साक्षरता तालिम लिएर बचत, लगानी, ऋण व्यवस्थापन र आम्दानी खर्चको योजना बनाउन सिकेको बताइन्। सामूहिक काम छिटो र सजिलो हुने तथा खेताला लगाउन नपर्ने उनको अनुभव छ।
घोराही–१२ की नन्दा योगीले मौरीपालन तालिम लिएर यो व्यवसाय सुरु गरेकी छन्। मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो। अहिले उनीसँग १० घार मौरी छन् र गत वर्ष ८६ किलो मह बिक्री गरी राम्रो आम्दानी गरिन्। गाईबस्तु पालेको भन्दा सजिलो भएकाले यो काम उनलाई राम्रो लागेको छ। तालिमले क्षमता विकास र वित्तीय साक्षरतामा पनि सहयोग पुगेको उनले बताइन्।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी पूर्वकमलरी उर्मिला चौधरी प्रगति पशुपालन महिला समूहको अध्यक्ष हुन्। समूहमा आबद्ध भएपछि च्याउखेतीको तालिम लिएर ३० हजार रुपैयाँ घुम्ती कोषबाट ऋण लिई च्याउखेती सुरु गरिन्। अहिले उनले ४०० लोकल र २५०० गिरीराज कुखुरापालन गरी राम्रो आम्दानी गरिरहेकी छन्। समूहले आत्मनिर्भर बनाएकाले यही व्यवसायलाई निरन्तरता दिने उनको योजना छ। ३० जना सदस्य रहेको समूहको घुम्ती कोषको पैसा एक वर्षमा साँवा मात्र फिर्ता गर्नुपर्ने नियम छ।
घोराहीकी उपप्रमुख हुमा डिसीले मुक्त कमलरीसँग सहकार्य गरी विभिन्न तालिम दिएर काम गरिरहेको बताइन्। पालिकाभित्र छाना नभएका मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेको र सीप सिकेकाहरूलाई स्वरोजगार बन्न उनले आग्रह गरिन्।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत ४६५ जनालाई प्रत्यक्ष सहयोग गरेको बताए। दाङका घोराही, तुलसीपुर र लमही नगरपालिकामा यो कार्यक्रम लागू भएको र लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत र असहाय रहेका उनले जानकारी दिए। महिलाहरूले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले बताए।