
गलकोट (बागलुङ) । काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ। यस कार्यक्रम मार्फत गाउँपालिकाका ७५ जनाले एक सय दिनको रोजगारी प्राप्त गरेका छन्। उनीहरूले वडा कार्यालयसँगको साझेदारीमा सडक स्तरोन्नति कार्यमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए।
चालु आर्थिक वर्षमा गाउँपालिका भित्र आठवटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सफलतापूर्वक सम्पन्न भएका छन्। थप आठवटा योजना कार्यान्वयनको अन्तिम चरणमा रहेका छन्। सम्पन्न भएका योजनाहरू मध्ये भिमापोखरा, बिहुँ, लेखानी, तङ्ग्राम र पालामा वडा कार्यालयको बजेट साझेदारीमा सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ।
काठेखोला गाउँपालिकाका पाँचवटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत प्राप्त हुने ज्यालामा वडा कार्यालयको बजेट साझेदारी गरी नमूनाको रूपमा सडक ढलान गरेका छन्। काठेखोला गाउँपालिका–२ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारी गर्दै वडा कार्यालयले मात्रै रु २२ लाख खर्च गरेर सडक स्तरोन्नति गरेको वडा अध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो। वडा कार्यालयमा सूचीकृत १४६ जना मध्ये पहिलो चरणमा नौ जनालाई रोजगारी प्रदान गरिएको र वडा कार्यालयले तीनवटा सडक स्तरोन्नति गरेको उनले बताए।
वडा अध्यक्ष शर्माले भने, “गाउँको मुख्य विकास भनेकै सडक रहेछ। सडकका अप्ठ्यारा घुम्ती ढलान तथा उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहजता प्रदान गर्ने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत प्राप्त रकममा वडाले साझेदारी गर्दै तीन ग्रामीण सडक स्तरोन्नति गरिएको हो।”
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाको साझेदारीमा निर्माण सामग्री खरिद गरेर सडक स्तरोन्नति तथा पदमार्ग निर्माण गरिएको जानकारी दिए। ज्यालाका लागि मात्रै प्राप्त बजेटमा वडा कार्यालयले निर्माण सामग्री र दक्ष कामदार थप्दा बजेट कार्यान्वयन प्रभावकारी बनेको उनको भनाइ छ।