
किमाथाङ्का (सङ्खुवासभा) । लगातारको वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्डमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार बुधबार रातिको वर्षासँगै आएको पहिरोले खाँदबारी-किमाथाङ्का खण्डको मकालु-३ क्षेत्रमा सडक बगाएको छ। यस कारण मकालु गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसाधनहरू सञ्चालन हुन सकेका छैनन्।
उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको जनाएको छ। हाल सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोलातर्फ जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्र सञ्चालन भइरहेको छ।