कोशी प्रदेश

ओखलढुङ्गामा घरमै सुत्केरी हुने क्रम रोकिएन, आठ महिनामा २९ जना

 

ओखलढुङ्गा । सरकारले सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरे पनि ओखलढुङ्गामा घरमै सुत्केरी हुने क्रम रोकिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा जिल्लामा २९ जना महिला घरमै सुत्केरी भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्क अनुसार, सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवतीले घरमै बच्चा जन्माएका छन्। त्यस्तै, सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन्। लिखु गाउँपालिकामा भने यो अवधिमा घरमा सुत्केरी भएको तथ्याङ्क छैन।

पछिल्ला तीन आर्थिक वर्षमा ओखलढुङ्गामा ११६ जना गर्भवती घरमै सुत्केरी भएका छन्। आव २०८०/८१ मा ४५ र आव २०७९/८० मा ४२ जना महिलाले घरमै बच्चा जन्माएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिए। सुरक्षित मातृत्व कार्यक्रम र दक्ष स्वास्थ्यकर्मीसहितका प्रसूतिगृह सञ्चालनमा रहे पनि घरमै सुत्केरी हुने क्रम नरोकिएको उनले बताए।

“नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। प्रसूतिगृहहरू पनि ठाउँठाउँमा छन्, तर घरमा सुत्केरी हुने क्रम पूर्ण रूपमा रोकिएको छैन,” पोखरेलले भने, “यद्यपि विगतको तुलनामा केही सुधार भने आएको छ। सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गरे र नागरिक स्वयं सचेत भए यो समस्या समाधान हुन सक्छ।” स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहको माध्यमबाट पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरी नियमित गर्भजाँच गराउने र घरमा हुने सुत्केरी दर घटाउने प्रयास जारी रहेको उनले बताए।

ओखलढुङ्गामा उमेर नपुग्दै सुत्केरी हुनेको संख्या बढ्दो

ओखलढुङ्गामा विवाहयोग्य उमेर नपुग्दै सुत्केरी हुने किशोरीको संख्या पनि बढ्दो छ। बालविवाह नरोकिएको यस जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ९१ जना किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्। स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलका अनुसार सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन्।

मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन्। लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जनाले सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै बच्चा जन्माएका छन्। जिल्ला अस्पताल र विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेरका आधारमा यो तथ्याङ्क संकलन गरिएको हो। जिल्लामा पारिवारिक दबाबमा मागी विवाह गर्ने चलन घटे पनि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको संख्या बढेको पाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *