
रसुवा। बागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिंह लामाले विद्यार्थीहरूले राम्रो पढाइका साथसाथै खेलकुद लगायतका अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
रसुवा जिल्ला खेलकुद विकास समितिद्वारा धुन्चेमा आयोजित १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले शारीरिक रूपमा स्वस्थ र फुर्तिलो भई सहज रूपमा काम गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन खेलकुद विधामा विद्यार्थीको ध्यान जान आवश्यक रहेको बताए।
रसुवा जिल्लाको खेलकुद विकास र विस्तारका लागि आवश्यक बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले २०७२ सालको भूकम्पले क्षति पुर्याएको जिल्ला खेलकुद भवन पुनर्निर्माण गरिदिने बताए।
ऐतिहासिक रसुवागढी नाका, लाङटाङ पर्यटकीय क्षेत्र, पवित्र तीर्थस्थल गोसाइँकुण्ड र विद्युत् उत्पादनका लागि महत्वपूर्ण जिल्लाको रूपमा परिचित रसुवाको समग्र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको प्रवर्द्धन गर्न र वनस्पति, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।
सो अवसरमा प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवा जिल्लाको सडक निर्माण तथा विस्तार सहित विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ, आमाछोदिङ्मो गाउँपालिका प्रमुख बुचुङ तमाङ लगायतले दुर्गम तथा हिमाली जिल्ला रसुवालाई प्राथमिकता दिई बजेट बनाउन मुख्यमन्त्री लामालाई आग्रह गरे।