
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको भीषण डढेलो राति अबेर नियन्त्रणमा आएको छ। स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय हलेसी र नगर प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।
डढेलोले दुर्छिमका चार घर र दुई गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँसम्म फैलिएको थियो।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार, “गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भयौँ। डढेलो नियन्त्रणमा लिन इलाका प्रहरी, नगर प्रहरी र स्थानीयले ठूलो सहयोग गरेका छन्। आगलागीमा मानवीय क्षति भने भएको छैन।”
सामुदायिक वनमा लागेको डढेलोले करोडौं रुपैयाँ बराबरको जडीबुटी, काठपात र वन्यजन्तुको क्षति भएको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्। डढेलोको कारण भने अझै खुल्न सकेको छैन।
यसअघि, फागुन ४ गते हलेसी तुवाचुङ-७ महादेवस्थानस्थित हलेसी बजारमा चार घर र चैत ४ गते हलेसी तुवाचुङ-२ डिकुवामा नौ घर जलेर नष्ट भएका थिए।
दुर्छिमका डढेलो पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ र क्षतिको विवरण संकलन भइरहेको छ। स्थानीय प्रशासन र नगरपालिकाले पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरिरहेको छ।