देश

पृथ्वी राजमार्गको अवरोध हट्यो, सवारी आवागमन सहज

डुम्रे (तनहुँ)। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा खण्डको विस्तार कार्यका क्रममा विमलनगरमा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोध हटेको छ। एक महिनादेखि आंशिक रुपमा अवरुद्ध रहेको उक्त खण्डमा आजदेखि सवारी आवागमन सहज भएको हो।

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो।

राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो। यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिक रूपमा बन्द गरिएकामा आजदेखि सहज रुपमा सवारीसाधन सञ्चालन हुने भएको हो।

उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्म बन्द गरी काम गर्ने गरिएकामा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। निर्माणको काम भने जारी रहेकाले आंशिक रूपमा करिब १५ मिनेटसम्म अवरोध हुन सक्ने उनले बताए।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्ड रु ६ अर्ब २१ करोड ३१ लाखको लागतमा निर्माण भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *