काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए । उनले अस्पतालहरूमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए ।
उनले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताए ।
उनले उपलब्ध साधन श्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताए । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति सीमित रहेको पनि बताए ।
उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ । खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन । रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन । अस्पतालहरूमध्येमा प्रसुती अलि अगाडि, अलि व्यवस्थित छ । यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रुपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिन । तर तुलनात्मक रुपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ ।
अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन । साधन श्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन । उपलब्ध साधन श्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ । अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति एकदमै सिमित छ, हाम्रो जनशक्ति थोरै छ ।’
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको बताए । उनले तीन सय शैय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताए ।




