विश्व

बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रय स्थलमा

भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।

भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।

आफ्नो घर पूर्ण रूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताउनुभयो ।

सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रवाभित पारिरहेको छ ।

बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुदाँ बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ ।

विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुल अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ । उहाँले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुईलाख ८५ हजार मानिसहरु आपतकालीन आश्रयमा बसिरहेको बताउनुभएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *