देश

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भन्सार प्रमुख महेश बराल नियुक्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बरालले नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको जिम्मेवारी प्रदान गरेका हुन् ।

अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराएका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष भएका हुन् ।

गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै हालसम्म धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा रहेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्वको धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि प्रक्रिया अगाडी बढ्न सकेको थिएन् । पूर्व अर्थमन्त्ती वर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाएका थिए । अर्थमन्त्री परिवर्तनसँगै रानालाई फिर्ता बोलाएर बराललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *