मुख्य समाचार

संविधानविद् डा.ज्ञावालीको दाबी, ‘प्रचण्डले विश्वासको मत नपाए प्रधानमन्त्री बन्ने शेरबहादुर देउवा नै हो’

काठमाडौं। कांग्रेस–एमालेको गठबन्धनमा अब बन्ने सरकार संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्नेमा संविधानविद्, कानुनविद् र राजनीतिककर्मीहरुमा मतैक्यता नरहेको पाइएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, कानुनविद् र संविधानविद्हरुले अब गठन हुने सरकार संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्नेमा फरक–फरक धारणा व्यक्त गरेका छन् ।

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञावालीले अहिलेसम्म संविधानको धारा ७६ (१) र धारा १६८ (१) निष्कृय रहेको बताए । अहिलेसम्म संघदेखि प्रदेशमा धारा ७६ (१) र १६८ (१) को प्रयोग गर्ने अवस्था नै नबनेको उनको भनाइ छ । जनताले आफ्ना मौलिकहरुको उपभोग गर्न पाउने अवस्था सिर्जना हुने स्थिर र बलियो सरकारको आवश्यकत्ता पर्ने उनको भनाइ छ ।

अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्डले राजनीतिक नैतिकता प्रदर्शन गर्ने हो भने राजीनामा दिनुपर्ने उनको धारणा छ । प्रधानमन्त्री प्रचण्डले संसद्मै अभ्यास गर्छु भन्दा एमालेले समर्थन फिर्ता लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले संसद् फेस गरेर असफल भएको खण्डमा स्वतः उपधारा ३ आकर्षित हुने उनको दाबी छ । ‘अहिलेको संविधानका स्थिति र संरचना के हो भन्दाखेरी पहिलो सरकार बहुमतको हो । त्यो असफल भयो भने ७६ (२) को सरकार हो । दोस्रो ७६ (२) को सरकार पनि असफल भयो भने स्वतः त्यसको चरण ७६ (३) को सरकार हो,’– उनले भने ।

अहिलेसम्म सत्ता समीकरणमा रहेको दल नेकपा (एमाले) ले समर्थन फिर्ता नलिएकाले सरकारलाई विश्वासको मत कायमै रहेको उनले बताए । साथै, प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअन्तर्गत ३० दिनभित्र विश्वासको मत लिने अधिकार रहेको बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएर असफल भएको खण्डमा अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ । ‘प्रधानमन्त्रीले राजनीतिक नैतिकता छ भन्ने हो भने राजीनामा गर्ने हो । विश्वासको मत लिन्छु भन्ने हो भने विश्वासको मत लिन सक्छ । विश्वासको मत असफल भयो भने धारा ७६ (३) नै आकर्षित हुने हो । त्यो भनेको शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हो,’– उनले भने ।

वर्तमान संविधान संविधान सभाले बनाएको स्मरण गराउँदै उनले संविधान संशोधनका लागि संसद्भित्रका सबै दलको सहमति आवश्यक पर्ने बताए । आयोग बनाएर संविधान संशोधन गर्न नसकिने उनले बताए । आयोग बनाएर संविधान संशोधन गर्न खोजियो भने त्यो हिजोका राजा महाराजाहरुले बनाएको संविधानजस्तो बन्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *